हिलेको होटलबाट खैरो हिरोइनजस्तो पदार्थसहित तीन जना पक्राउ


काठमाडौँः धनकुटाको हिलेस्थित एक होटलबाट लागूऔषध खैरो हिरोइनजस्तो देखिने पदार्थसहित तीन जना पक्राउ परेका छन् ।

धनकुटा नगरपालिका–१ हिलेस्थित माउन्टेन होटलमा लागूऔषध कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरी चौकी हिलेबाट खटिएको टोलीले छापा मारेको थियो । छापा मार्दा प्लास्टिकसहित ३ ग्राम ५४० मिलिग्राम खैरो हिरोइनजस्तो देखिने लिसाइलो पदार्थ बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका–२ बयरवनका ३७ वर्षीय मनिष अधिकारी, बराहक्षेत्र–१ भण्डारीटारका ३१ वर्षीय अजय साह र भोजपुर नगरपालिका–७ डाँडागाउँका ३८ वर्षीय सन्तोष खड्का रहेका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी हेमन्त भण्डारी क्षेत्रीका अनुसार पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।