पर्साको ठोरीमा पाटे बाघको आतंक बढेकाे छ । बाघले एक किसानको गोठमा रहेको बाख्रा र पाडा मारेको छ । सोमबार राति १२ बजे पर्सा राष्ट्रिय निकुञ्जबाट निस्कीएको पाटे बाघले ठोरी गाउँपालिका वडा नम्बर ४ घ्याङडाँडाका मिकमर लामाको गोठमा पसेर बाख्रा र पाडा मारेको स्थानीय बुद्ध पाख्रीनले जानकारी दिए ।
गोठमा रहेका ६ वटा बाख्रा र १ पाडाे मारेको पीडित लामाले बताए । बाघ गोठमा प्रवेश गरी आक्रमण गरेको थाहा पाएलगत्तै लामा दम्पतीले सहयोगका लागि गाउँलेलाई बोलाएका थिए । त्यसपछि उनीहरुले निकुञ्जका कर्मचारी र आर्मीको सहयोगमा आज बिहान ४ बजे मात्र बाघ जंगलतर्फ धपाउन सफल भएका थिए । लामाले बाघको आक्रमणबाट एक लाख रूपैयाँ भन्दा बढीको क्षति भएको गुनसो गरे ।

बाघ फेरि गाउँ पस्ने डरले स्थानीय बासिन्दा त्रसित छन् ।