काठमाडौँः सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ ।
यातायात व्यवस्था विभागले सेवाग्राहीको चाप र लामो समयदेखि देखिँदै आएको लाइसेन्स छपाइको समस्या समाधान गर्न नयाँ प्रणालीमार्फत छपाइ सुरु गरेको हो । नयाँ प्रणालीमा सेवाग्राहीको विवरण ईडीएलभीआरएसमा अपलोड भएपछि सिधै सुरक्षण मुद्रणमा पुग्नेछ । सुरक्षण मुद्रणले लाइसेन्स छपाइ गरी हुलाकमार्फत सम्बन्धित यातायात व्यवस्था सेवा कार्यालयमा पठाउने व्यवस्था गरिएको छ ।
पहिलो चरणमा मधेश प्रदेशका ३ हजार ८१ वटा लाइसेन्स छपाइ गरी वितरणका लागि सम्बन्धित कार्यालयमा पठाइएको छ । मधेश प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता गरी आफ्नै व्यवस्थापनमा लाइसेन्स छपाइ गरिरहेको छ । यस्तै, लुम्बिनी प्रदेशले पनि शुक्रबार सुरक्षण मुद्रणसँग सम्झौता गरी लाइसेन्स छपाइ सुरु गरेको छ । प्रदेश सरकारले सुरक्षण मुद्रणसँग सम्झौता नगरेको अवस्थामा भने यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रणको समन्वयमा लाइसेन्स छपाइ गरिने व्यवस्था गरिएको छ ।
नयाँ प्रणाली कार्यान्वयनमा आएसँगै प्रदेशअनुसार छपाइको जिम्मेवारी व्यवस्थापन गरी सेवाग्राहीलाई सहज, छिटो र समयमै लाइसेन्स उपलब्ध गराउने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।





