टेकु सबस्टेसनमा प्राविधिक काम हुँदै, काठमाडौंका विभिन्न क्षेत्रमा ११ दिन विद्युत प्रभावित हुने


काठमाडौँः नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसनमा प्राविधिक काम गर्नुपर्ने भएकाले काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत आपूर्ति प्रभावित हुने जनाएको छ ।

प्राधिकरणका अनुसार असोज ४ गतेदेखि असोज १४ गतेसम्म विभिन्न फिडरमार्फत वितरण हुने विद्युत सेवा निर्धारित तालिकाअनुसार अवरुद्ध वा प्रभावित हुन सक्नेछ । लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाअन्तर्गत टेकु सबस्टेसनको ११ केभी प्यानलमा रहेका पुराना रिले हटाएर नयाँ रिले जडान गरिनेछ ।

साथै रिले रेट्रोफिट तथा एसएएस (सबस्टेसन अटोमेसन सिस्टम) जडान र परीक्षणको कामसमेत हुनेछ । यस क्रममा १३२ केभी टेकु सबस्टेसनबाट आपूर्ति हुने विभिन्न फिडर प्रभावित हुने भएकाले ती फिडरअन्तर्गतका काठमाडौंका विभिन्न क्षेत्रमा विद्युत सेवा अवरुद्ध वा प्रभावित हुन सक्ने प्राधिकरणले जनाएको छ । तर सबै क्षेत्रमा एकै समयमा विद्युत बन्द हुने छैन। प्रभावित फिडर र कामको प्रकृतिअनुसार विद्युत आपूर्ति बन्द हुने समय फरक–फरक हुनेछ ।

प्राधिकरणले प्राविधिक कामका कारण उपभोक्तालाई पर्न सक्ने असुविधाप्रति क्षमा माग्दै निर्धारित समयमै काम सम्पन्न गर्न सहयोग गर्न आग्रह गरेको छ । नयाँ रिले जडान, रेट्रोफिट तथा एसएएस परीक्षणपछि विद्युत आपूर्ति नियमित हुने प्राधिकरणले जनाएको छ ।