दलकै मान्छे किन नहोस् छानविनमा प्रभाव पार्छ भने छाड्दिन : गृहमन्त्री लामिछाने


उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले अपराध छानबिनमा प्रभाव पार्न खोजे जुनसुकै दलका मान्छे भएपनि कारवाही गर्ने बताएका छन् । बिहीबार आफू निर्वाचित जिल्ला चितवन पुगको मन्त्री लामिछानेले मुलुकको सुशासनका लागि कुनै पनि कसुर नराख्ने जिकिर गरे । अफूलाई कुनै पनि दल वा दलका व्यक्तिले आफ्नो मान्छे भएकाले छोडिदिन आग्रह गरे उसैलाई कारवाही गर्न सकिने उल्लेख गरे ।

‘कुनै पनि दलले अवराध अनुसन्धानमा बाधा पुर्‍याउने, मेरो मान्छे छोडिदेउ भनेके सुन्न पर्दैन । बरु त्यस्तो भनेको प्रमाण ल्याउनु भयो भने भन्ने मान्छेलाई पनि कानुनी दायरामा ल्याउन सकिन्छ,’ उनले भने । उनले निर्वाचन अगाडि आफूले गरेका प्रतिबद्धता नभुलेको पनि चर्चा गरे । आफूले जतिसक्दो राम्रो गर्न तर नराम्रो एउटा पनि नगर्ने संकल्प उनले गरे ।

‘राम्रो कति गर्न सक्छु थाहा छैन । तर नराम्रो एउटा पनि गर्दिन,’ उनले भने, ‘कति दिन, महिना वर्ष रहन्छु थाहा छैन।’ मन्त्री लामिछानेले आफू सफा हात बोकेर मन्त्रालय छिरेको र सफा हात लिएर बाहिर निस्किने जनाए ।

उपप्रधान तथा गृहमन्त्रीमा नियुक्त भएपछि रवि लामिछाने पहिलो पटक आज चितवन आएका छन् । चितवन २ बाट भारी मत ल्याएर निर्वाचित भएका लामिछाने जिल्लाका विभिन्न कार्यक्रममा सहभागी हुन चितवन आएका हुन् । यसअघि प्रधानमन्त्रीले विश्वासको मत लिएपछि चितवन आउने उनले बताएका थिए । उनले विमानस्थलमा भिआइपी कक्ष प्रयोग नगरी सर्वसाधारण निस्कने बाटो प्रयोग गरेका थिए । उनले पत्रकार सम्मेलन पनि विमानस्थल अगाडिको परिसरमा गरेका छन् ।

लगत्तै उनि आफूले निर्देशन दिएको सडकको अवस्था हेर्न भरतपुर ४ स्थित धर्मचोक पुगेका छन् । उनि आज चितवनमा आधा दर्जन कार्यकक्रममा सहभागी हुँदैछन् ।