नेमकिपा र राजमोले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने


नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा पार्टी (राजमो) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावलाई समर्थन नगर्ने भएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेमकिपाका प्रेम सुवालले प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने जानकारी गराए। नेता सुवालले नेपाल–भारत सीमालाई नियमन गर्न, ढिलासुस्ती र भ्रष्टाचार अन्त्य गर्न, काठमाडौँ उपत्यकामा भएको धुलोधुवाँ न्यूनीकरण गर्न र यहाँका सम्पदा र संस्कृतिको जोगाउने कार्यलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सरकारका प्राथमिकता र न्यूनतम साझा कार्यक्रम सुन्दा कर्णप्रिय रहेता पनि कार्यान्वयनमा कठिनाइ भएको बताए। उनले भने, “हामी सरकारलाई समर्थन र मत दिन सक्दैनौँ, निरन्तर राष्ट्र, राष्ट्रियता र स्वाभिमानको मुद्दालाई उठाइरहन्छौँ । यस्तै-बागमती प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले पाएका छन्। प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा आज बसेको प्रदेश सरकारको मन्त्रिपरिषदको पहिलो बैठकले सरकारको प्रवक्ताको जिम्मा थपलियालाई तोकेको हो।

बैठकले प्रादेशिक संरचना निर्माणका लागि संघीय सरकारसमक्ष पठाइएको जग्गा प्राप्तिसम्बन्धी सिफारिसको अनुगमन गर्ने निर्णय गरेको छ। उक्त विषयमा थप पहल गर्न प्रदेशको मुख्य सचिव मुकुन्दप्रसाद न्यौपानेलाई जिम्मेवारी दिइएको प्रवक्ता थपलियाले जानकारी दिए। बैठकले प्रदेशको १४ वटा मन्त्रालयलाई घटाउने निर्णय गरेको हो। उक्त विषयमा अध्ययनका लागि मुख्य सचिव न्यौपानेको संयोजकत्वमा कार्यदल गठन गर्ने निर्णय गरिएको छ। कार्यदललाई आगामी १५ दिनभित्र प्रतिवेदन तयार पारी पेस गर्न निर्देशन दिइएको छ।

समितिको सदस्यमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव तथा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका कानुन सचिवलगायत रहने गरी तोकिएको छ।