सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ‘एनए–एमभी’ कलसाइनको हेलिकप्टर सोलुखुम्बुको लिखुपिके गाउँपालिकास्थित लाम्जुरापास क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ।
असई बस्नेतले तीनजनाको शव फेला परेको बताएको बास्तोलाको भनाइ छ। घटनास्थलमा पुगेका प्रहरीले तीनवटा शव देखेको बताएका छन्। शवको पहिचान भइसकेको छैन। अरू खोज्नेक्रम जारी छ। घटनास्थलमा स्थानीय पनि छन्,’ उनले भने।
आज बिहान १० बजे सोलुखुम्बुको सुर्केबाट उडेको हेलिकप्टर सवा १० बजे सम्पर्कविहीन भएको थियो। हेलिकप्टर पौने ११ बजे काठमाडौं आइपुग्नुपर्ने थियो। हेलिकप्टरमा पाँच जना विदेशी र एक जना नेपाली छन्। पाइलट टेकबहादुर गुरूङ रहेको प्रजिअ भट्टराईले बताए। अन्य यात्रु भने मेक्सिकोका नागरिक रहेको बताइएको छ।